November 2, 2024
Spread the love
Budha Subba GOLD Cup फागुन २६ देखि
Budha Subba GOLD Cup फागुन २६ देखि

सुनसरी — मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करण आगामी फागुन २६ देखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै यसवर्ष फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

बुढासुब्बा गोल्डकप फागुन २६ देखि प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित ८ वटा क्लबले सहभागी हुने क्लबका अध्यक्ष प्रताप तामाङले बताए । प्रतियोगितामा थ्रीस्टार क्लब, न्यूरोड टिम (एनआरटी), त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार पाउनेछ । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउने अध्यक्ष तामाङले जानकारी दिए ।

धरान उपमहानगरपालिका संयोजक रहेको प्रतियोगितामा कूल ७७ लाख ६० हजार आम्दानी हुने र ६६ लाख ५५ हजार खर्च हुने आयोजकले जनाएको छ । क्लबका अनुसार गतवर्ष सम्पन्न २३ औं संस्करणमा १२ लाख ७४ हजार खुद नाफा भएको थियो । ७७ लाख २० हजार ३ सय २८ रुपैयाँ आम्दानी भएको र ६४ लाख ४६ हजार खर्च हुँदा १२ लाख ७४ हजार ३ सय २८ रुपैयाँ नाफा भएको क्लबका महासचिव नबिन राईले जानकारी दिए ।

Leave a Reply